सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।

दिवसका अवरमा आज दिएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गरेकी छन् ।

‘नेपाली जनताको दशकौं लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।’ सन्देशमा भनिएको छ, ‘वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।’

उनले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गरेकी छन् ।

‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछुु, राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘संविधान जारी भएपश्चात् प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको छ । आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्नमा सबै मतदाताहरूमा हार्दिक अपिल गर्दछु ।’

उनले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गरेकी छन् ।

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् ।

साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।

यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानीक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उनले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गरेका छन् ।

कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनले बताएका छन् । ‘सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् । उनले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »