सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज देखि दैनिक ४ करोड लिटर उपत्यकामा मेलम्चीको पानी वितरण

काठमाडौँ । उपत्यकामा पहिलो पटक आइतबारबाट मेलम्चीको पानी वितरण गरिँदै छ । पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानै प्रणालीबाट वितरण गरिनेछ । सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने र त्यसपछि वितरण प्रक्रिया थालिने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

‘मेलम्चीको सुरु क्षमता १७ करोड लिटर हो, पहिलो दिन नै १७ करोड लिटर पानी आउँदैन,’ उनले भने, ‘तत्काललाई दिनको चार करोड लिटर पानी मात्रै परीक्षणका रूपमा वितरण गर्छौं ।’ अहिले पानी आउने सुरुङ र वितरण लाइन दुवैको परीक्षण गर्न लागिएको हो । यसमार्फत पानी कसरी सामानुपातिक रूपमा सबैका धारामा पुग्छ भन्ने परीक्षण पनि हुनेछ । ‘एकदुई दिन मेलम्चीबाट दिनको चार करोड लिटर पानी आउनेछ, बाँकी पानीका लागि आफ्नै स्रोत प्रयोग गरिनेछ,’ राईले भने । करिब २० दिनभित्र १७ करोड लिटर नै पानी आउने उनको भनाइ छ ।

‘अहिले हामीले पुरानै नेटवर्क प्रयोग गर्छौं, नयाँ रिजर्भ ट्यांकी खुमलटारको मात्र प्रयोग हुनेछ,’ उनले भने, ‘केयूकेएलका मीनभवन, अनामनगर, बाँसबारी, महांकालचौर, महाराजगन्ज, बालाजुलगायत स्थानका ट्यांकी प्रयोग हुनेछन् ।’ थोरै समय भए पनि प्रत्येक दिन पानी दिनेबारे गृहकार्य गरिरहेको उनको भनाइ छ । ‘पानीको मात्रा बढ्दै गएपछि त्यसको समय बढाउँदै लैजान्छौं,’ राईले भने, ‘पहिलो दिन सिस्टममा जोडिएका सबै धारामा पानी पुर्‍याउँछौं ।’

अनामनगर क्षेत्रमा नयाँ लाइनका १६ सय धारा छन् । तिनमा पाइलट प्रोजेक्टका रूपमा चौबिसै घण्टा पानी दिने योजना रहेको उनले सुनाए । ‘यसबाहेक अन्यत्र चौबिसै घण्टा दिन सकिँदैन,’ राईले भने, ‘रोटेसन बेसमा वितरण गर्ने गरी तयारी गर्दै छौं ।’ केयूकेएलको सेवाभित्र २ लाख २५ हजार धारा छन् । पहिलो दिन नै यी सबै धारामा पानी पुर्‍याउन लागिएको उनले जानकारी दिए । नयाँ पाइप परीक्षण गर्न समय लाग्छ ।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार समितिको जिम्मेवारी मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रसम्म ल्याउने हो । ‘शुक्रबार प्रशोधन केन्द्रमा पानी राखेर प्रशोधन गरी थोक वितरण केन्द्रमा पठाउन थालिएको छ,’ उनले भने, ‘नयाँ निर्माण भएका पाइपलाइन र पानीपाखेरीको परीक्षण तथा सफाइको काम मेलम्ची उपायोजना–२ (पीआईडी) ले गरिरहेको छ ।’

पीआईडी र केयूकेएलले समन्वय गरेर पानी वितरण गर्नेछन् । उत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । सुक्खा सिजनमा करिब १० करोड लिटर ग्राहकका धारासम्म पानी पुर्‍याउन सकिने पन्तको भनाइ छ । काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् । मेलम्ची खानेपानी आयोजना २०५५र५६ बाट सुरु भएको हो । राष्ट्रिय गौरवका रूपमा रहेको यो आयोजना आर्थिक वर्ष ०७१र७२ सम्पन्न गर्ने लक्ष्य थियो । तर विविध कारणले मेलम्चीको पानी २०७७ मा मात्र आयो ।

भर्खरै

सम्बन्धित खबर

Language »