सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा तिज विशेष कार्यक्रममा कलाकारहरुलाई सम्मान


मंसूर अली
नेपालगन्ज, नेपाली नारीहरुको महान साँस्कृतिक पर्व हरि तालिका “तिज” को अवसरमा भेरी साहित्य समाजका केन्द्रीय समिति र ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको संयुक्त आयोजनामा यहाँ बुधवार सम्पन्न तिज विशेष कार्यक्रममा नाचगान र दर खाने कार्यक्रमका साथ कलाकारहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।


सो अवसरमा शिक्षाविद् तथा अग्रज साहित्यकार किरण आचार्यले तिजलाई साँस्कृतिक पर्वका रुपमा मात्र होइन महिलाहरुको हक र अधिकारको लागि आवाज उठाउँदै मनाइँदै आएको चर्चा गर्दै तिजको दिन निराहार व्रत बसेर अविवाहिता महिलाले राम्रो पति पाउन र विवाहिता महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तिज पर्व मनाउने परम्परा छ भन्नुभयो ।


उहाँले तर, व्रत बस्नु धार्मिक पाटो भए पनि व्रत बस्दा स्वास्थ्यका लागि पनि उपयोगी हुने र क्यान्सर रोग लाग्न नदिने सम्भावना न्यून हुने वैज्ञानिक तथ्य पनि प्रमाणित भएको बताउनु भयो ।
भेरी साहित्य समाजका केन्द्रीय समिति, कला तथा संस्कृति विभागको सहकार्यमा भएको सो कार्यक्रममा प्राज्ञ सदस्य भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिनाले नेपालका थुप्रै महत्वपूर्ण पर्व रमाइलोका लागि मात्र नमनाएर कला संस्कृति र साँस्कृतिक पक्षको जगेर्नाको लागि पनि मनाउनु पर्ने बताउनु भयो ।


अध्यक्षको आसनबाट ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले तिजलाई साँस्कृतिक पर्वका रुपमा तडकभडक बिना आपसी सद्भाव आदानप्रदान गरेर मनाउनु पर्ने बताउनु भयो । उहाँले नेपाली महिलाहरुको महत्वपूर्ण पर्व तिजलाई परम्परागत नाचगानमा मात्र सीमित नराखेर यसलाई समय अनुसार जनचेतना जगाउने पर्वको रुपमा पनि परिमार्जन गर्दै जानु पर्नेमा जोड दिनु भयो ।
प्रमुख अतिथि शिक्षाविद् तथा अग्रज साहित्यकार आचार्य, प्राज्ञ सदस्य भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष तिमिल्सिना र ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष शर्माले कार्यक्रममा सहभागी हुने कलाकारहरुलाई नगद पुरस्कार सहित खादा ओढाएर सम्मान गर्नु भएको थियो ।


सो अवसरमा कार्यक्रमको व्यवस्थापनमा सक्रिय रुपमा सहयोग गर्ने केन्द्रका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि नगद सहित खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा केन्द्रकी उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता रेग्मी, सदस्यद्वय ललिता जैसी, नितेश रेग्मी तथा कार्यालय सहयोगी भागमती चिडीमारले कार्यक्रमको व्यवस्थापनमा सक्रिय सहयोग गरेका थिए ।
भेरी साहित्य समाजकी केन्द्रीय महासचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित सो कार्यक्रममा अछामी समाजका वरिष्ठ सदस्य तथा लेखक राम बहादुर रावल, श्रुति बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक विद्यादेवी रावल, भेरी साहित्य समाजकी केन्द्रीय सदस्य मीना बराल लगायत तीन दर्जन महिलाहरुको सहभागिता रहेको थियो ।
मौलिक तिज विशेष कार्यक्रममा परम्परागत मौलिक तिज गीत र नृत्य
यसअघि शुक्रवारका दिन नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रद्वारा मौलिक तिज विशेष कार्यक्रमको आयोजना गरिएको थियो । केन्द्रकी अध्यक्ष शर्माले दिनु भएको जानकारी अनुसार उक्त कार्यक्रममा सहभागी हुने कलाकारहरुलाई प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले प्रशंसा पत्र वितरण गर्नु भएको थियो ।


ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी सदस्य ललिता जैसीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा वरिष्ठ कलाकारद्वय कमल विके निर्मोही र सुन्दर गुरुङ, नृत्य कलाकारहरु लगायत ५५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
तारा केसी, हस्तकला योगी, रुवि रेग्मी, अन्जलि खड्का, रेणुका खड्का, निर्मला विष्ट, निशा गिरी, रितु शाह लगायतले एकल र सामूहिक नृत्यमा साथ दिएका थिए ।


गीत गाउनेहरुमा राधादेवी गौतम, लता शर्मा, ललिता शर्मा, रेखा शर्मा, तारा केसी, हस्तकला योगी, ममता रेग्मी, आशा तिवारी, देवकी कार्की, निर्मला विष्ट, कमला अधिकारी, अम्बिका खड्का, शुभद्रा उप्रेती, मनिषा श्रेष्ठ लगायतले विभिन्न मौलिक तिज गीत गायनमा साथ दिएका थिए । दुबै कार्यक्रमको साउण्ड सिस्टममा नितेश गिरीले सहयोग गरेका थिए भने मादलवादनमा अविनाश उपाध्यायले साथ दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »