सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अझै एक वर्ष नेपाली टोलीसँगै रहने

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पुनः फुटबल टोलीले हेर्ने नहर्ने विषयमा गत साता माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपकै दौरान दुई वटा धारणा राखेका थिए ।

असोज २७ गते राउन्ड रोविनअन्तर्गत अन्तिम खेल बंगलादेशसँग १–१ को बराबरी खेलेसँगै नेपालको फाइनल यात्रा पक्का भएको थियो । २८ वर्ष लामो इतिहास भएको साफ इतिहासमा नेपाललाई फाइनल पुर्याउने पहिलो प्रशिक्षक बनेका उनले पोष्ट म्याच कन्फ्रेन्समा भनेका थिए, ‘साफको फाइनल मेरो अन्तिम खेल हुनेछ । अब म नेपाल फर्किन्न ।’

त्यसपछि असोज ३० गते भारतसँग फाइनलमा ३–० ले पराजित हुँदै नेपाल उपविजेता बनेपछि अलमुताइरीले अघिल्लो भनाई भन्दा बिल्कुल नयाँ कुरा गरे । उनले भने, ‘अक्टुबर २२ सम्म मेरो सम्झौता छ । त्यसपछि नयाँ प्रस्ताव आयो भने त्यसमा म सकारात्मक छु । छ महिनादेखि म लगातार काम गरिरहेको छु । म दुई साता आराम गरेपछि मात्र थप निर्णय गर्नेछु ।’

तर, उनले भने भन्दा फरक अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधारका अनुसार अलमुतारीले सन् २०२२ को सेप्टेम्बरसम्मका लागि सम्झौता पहिला नै गरिसकेका छन् । विगतमा जस्तै कतार फुटबल संघले नै पारिश्रमिक बेहोर्ने गरि अलमुताइरीसँग सम्झौता भइसकेको उल्लेख गर्दै महासचिव तुलाधरले भने, ‘सन् २०२२ सेप्टेम्बर अन्तिमसँगको सम्झौता उहाँसँग छ ।’ अलमुताइरी र एन्फाकातर्फबाट तुलाधरले असार १८ गते नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । बीचमा उनले राजीनामा गरेनन् वा सम्झौता तोडिएन भने अलमुताइरीले अझै एक वर्ष नेपाली टोलीले सम्हाल्नेछन् ।

आजै मात्र अलमुताइरीसँगको भेटको तस्बिर एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फेसबुकमा पोष्ट गरेका छन् । अध्यक्ष शेर्पाले लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टिमलाई थप मजबुत बनाउने सम्बन्धमा आजको हाम्रो छलफल ।’ साफ च्याम्पियनसिपको फाइनल हेर्न माल्दिभ्स पुगेका अध्यक्ष शेर्पा हाल कतारमा रहेका छन् ।

साफ च्याम्पियनसिपकै दौरान अलमुताइरीले इमेलमार्फत राजीनामा भने पठाएको तुलाधारले खुलासा गरेका छन् । ‘राजीनामा र अन्य विषयमा छलफल गर्न फाइनल अघि अध्यक्ष ज्यू र मैले व्यवस्थापक मदुसुधन उपाध्यक्षसहित साफको फाइनल भन्दा अगाडि नै उनलाई भेटेका थियौं’, तुलाधरले भेटमा भएको कुराकानी बारे भने, ‘तपाईंले २३ बाट जिम्मेवारी छाड्छु भने र राजीनामा गर्नुभएको छ । त्योलगायतका बारेमा कुरा गर्न हामी आएका हौं भन्दा उहाँले त्यो बिर्सिदउ म नेपाल फर्कन्छु भन्ने जवाफ दिनुभएको थियो ।’

तुलाधारले साफको फाइनलपछि नेपाल फर्कनुपर्छ भनेर अनुरोध समेत गरेको प्रसंग स्मरण गरे । ‘हामीले तपाई टिमसँगै जानुपर्छ भनेर उहाँलाई भनेका थियौं । उहाँ तयार पनि हुनु भएको हो,’ उनले भने, ‘पछि फेरि दुई साता आराम गरेपछि मात्र आउँछु भन्नु भएर जानुभएको हो ।’

एकदमै प्रतिक्रियात्मक रहँदै आएका अलमुताइरीले आफ्नो सम्झौताका विषयमा भने अहिले सम्म खुलेर बोलेका छैनन् । जबकी उनले एन्फासँग सम्झौता गरिसकेका छन् । नेपाली फुटबल समर्थकका बीच लोकप्रिय रहँदै आएका अलमुताइरी आफ्नो भनाईकै कारण बारम्बार चर्चा र विवादमा भने आउने गरेका छन् ।

६ महिनाको सम्झौतासहित उनी चैतको दोस्रो साता नेपाल आइपुगेका थिए । उनले सम्हाल्नुअघि नेपालले दशरथ रंगशालामा थ्री नेसन्स कप उपाधि जितेको थियो । पछि उनले युवा खेलाडीलाई महत्व दिदै परिवर्तन ल्याए । उनको प्रशिक्षणमा ८ खेलाडीले डेब्यू गरेका छन् ।

उनको नेतृत्वमा नेपालले जेठमा इराकविरुद्ध मैत्रीपूर्ण खेल, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेविरुद्ध विश्वकप तथा एसियन कप छनोटको समूह चरण खेल, भारतविरुद्ध भदौमा २ मैत्रीपूर्ण खेल र गत साता साफ च्याम्पियनसिपका ५ गरि ११ खेल खेलेको छ । इराकविरुद्धको मैत्रीपूर्ण खेल ६–२ ले गुमाएको नेपालले छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । अष्ट्रेलिया र जोर्डनविरुद्धको खेल नेपालले समान ३–० ले गुमाएको थियो । भारतविरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण श्रृखंलाको पहिलो खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । साफमा सुरुवाती दुई खेलमा माल्दिभ्सलाई १–०, श्रीलंकालाई ३–२ ले हराएको नेपालले अर्को खेल भारतसँग १–० ले गुमाएको थियो ।

राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुग्न सफल भएको थियो । साफ च्याम्पियनसिपमा नेपाली टोली सम्हाल्ने १२ प्रशिक्षक मध्ये फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका थिए । भारतसँगको फाइनल ३–० ले गुमाएको नेपालसँग समग्रमा उनको नतिजा ११ खेलमा ३ जित, २ बराबर र ६ हार रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »