सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजस्व छलेर ल्याएको १० लाखको सामान बरामद


नेपालगन्ज, दसैँ–तिहार र छठजस्ता चाडपर्व नजिकिएसँगै बाँकेमा तस्करी र अवैध आयात बढेको छ । चाडपर्वका बेला कपडा, लुगालगायत विभिन्न सामानको माग उच्च हुने हुँदा यहाँस्थित नेपाल–भारत नाकामा सक्रिय रहेका तस्करले भारतबाट कपडा लगायतको अवैध आयात र तस्करीलाई तीव्रता दिएका छन् ।
नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म आवागमन गर्ने यात्रुवाहक मैत्री बसमा लुकाएर ल्याएको पाँच लाखको अवैध कपडा बरामद भएको एक दिनपछि सशस्त्र प्रहरीले १० लाख रुपियाँ बरावरको अवैध सामान बरामद गरेको छ ।
सोही प्रकारले तीन दिनअघि मात्र नेपालगन्ज नाकाबाट पार भएर सुर्खेत पुगाइएको तीन क्विन्टल अवैध चिनी पनि सुर्खेत प्रहरीले बरामद गर्न सफल भएको थियो । यी घट्नाले पछिल्लो समय नेपाल–भारत नाकामा अवैध आयात र तस्करी बढेको पुष्टि गरेको छ ।
पछिल्लो पटक सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतमा राजस्व छलेर नेपालगन्जतर्फ ल्याइएको १० लाखको कपडा र अन्य सामग्री बरामद गरेको जनाएको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी रमेश विक्रम शाहीले दिनुभएको जानकारीअनुसार नाकामा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले बाँके जानकी गाउँपालिका–२ बन्जाडेगाउँ हुँदै भारतबाट अवैध रूपमा नेपालतर्फ मोटरसाइकलमा ल्याउँदैगरेको पर्दाको तयारी कपडासहित ३ वटा मोटरसाइकल बरामद गरेको बताउनुभयो ।

उहाँले प्रहरीलाई देखेपछि तस्करले मोटरसाइकलसहित सामान छाडेर भागेको बताउनुभयो । बरामद गरिएको सामानमध्ये तयारी कपडाको पर्दाको मूल्य चार लाख ५६ हजार ४०० र मोटरसाइकलको मूल्य छ लाखगरी जम्मा दश लाख ५६ हजार ४०० को सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद भएका अवैध सामानलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले जनाएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय बाँकेले पनि चाडपर्वको बेलामा तस्करी र अवैध आयात बढ्ने हुँदा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नाकामा रहेका प्रहरी युनिटलाई सो बारेमा विशेष निर्देशन जारी गरिसकिएको सो कार्यालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »