सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ मा गरिने भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणका कारण तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

कार्यकारिणी समिति बैठकले बिहीबार महासंघको वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकेको हो । गृह मन्त्रालयले तोकेको मापदण्डअनुसार निर्वाचन गरिने उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । ‘चुनाव मंसिर ११ मै सुरु गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘गृह मन्त्रालयका अनुसार सबै स्वास्थ्य मापदण्ड पूरा गरेर गर्नुपर्ने भएकाले साधारणसभा सुरु भएर सकिन दुई/तीन दिन पनि लाग्न सक्छ ।’ गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । ‘पहिला सबै चुनाव एकै ठाउँमा हुन्थ्यो,’ उनले भनिन्, ‘अब हामीले तीन/चार वटा ठाउँमा गर्नुपर्ने पनि हुन सक्छ ।’ यसबारे निर्वाचन समितिसँग बसेर निर्णय गर्ने उनले बताइन् । साधारणसभा जुम मिटिङमार्फत गर्न सुझाउँदै भेला भएर गर्न गृह मन्त्रालयले स्वीकृति दिएको छैन । ‘मंसिर ११ को साधारणसभाको उद्घाटन जुमबाटै गर्छौं,’

उनले भनिन्, ‘प्रमुख अतिथिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नेछौं ।’ गृहले महासंघलाई असोज ९ मा पठाएको चिठीअनुसार निर्वाचनका क्रममा मतदान गर्दा एक पटकमा २५ भन्दा बढी जम्मा नहुने गरी सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य तथा सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिन ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । कार्यदलले महासंघको साधारणसभा भर्चुअल माध्यमबाट र निर्वाचनका कार्यक्रम काठमाडौंमा गर्न सिफारिस गरेको थियो । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन सुरुमा ०७६ चैत २८ र २९ गतेलाई तोकिएको थियो । त्यति बेला सरकारले कोभिड–१९ का कारण लकडाउन गरेपछि साधारणसभा तथा निर्वाचन रोकिएको थियो । जेठ ७ र ८ र त्यसपछि साउन २६ र २७ का लागि पनि मिति तोकिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »