सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागमती प्रदेशको तर्फबाट एन्फालाई रु. एक करोड

बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच एक करोड बराबरको सम्झौता भएको छ । शुक्रबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा परिषद् र एन्फाबीचमा दुईवटा कार्यक्रममा खर्च गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार बागमती प्रदेश सरकारको तर्फबाट एन्फाले आयोजना गर्ने सहिद स्मारक ‘ए’डिभिजन लिगलाई ५० लाख परिषद्ले दिने भएको छ । परिषद्ले दिने ५० लाख लिगभरि हुने खेलमा विजेता टिमलाई दिइने म्याच मनी र म्यान अफ दि म्याचको रकममा खर्च हुने एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । लिगभरि ९१ वटा खेल हुने र प्रत्येक खेलको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने शेर्पाले बताए ।

यस्तै बागमती प्रदेश सरकारकै तर्फबाट हुने प्रदेश स्तरको फुटबलसम्बन्धी कार्यक्रम र बागमती प्रदेश लिगको खर्चको लागि एन्फालाई ५० लाख दिने सम्झौता पनि शुक्रबार नै भएको छ ।

प्रदेश सरकारको तर्फबाट प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी र एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पाले बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको रहोबरमा हस्ताक्षर गरेका हुन् ।

‘खेल क्षेत्रलाई आन्दोलनको रुपमा लैजाऊँ’

कार्यक्रममा बोल्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले खेल क्षेत्रलाई आन्दोलनकै रूपमा लैजानुपर्ने बताए ।

खेल क्षेत्रको गतिविधि दैनिक गर्नुपर्ने भन्दै उनले भने ‘प्रत्येक दिन, यो टिमले यति जित्यो, यति पुरस्कार पायो । आजको खेल यस्तो, भोलि यहाँ हुने भन्ने जनताले सुन्न चाहेका छन् । अनि मात्र खेल क्षेत्रको विकास हुन्छ । यसकाे लागि हामीले खेल क्षेत्रलाई आन्दोलनकै रूपमा लैजानु पर्नेछ । ’

उनले विधि नै बनाएर कार्यक्रमहरू बनाउन थाले पद र शक्तिको लागि स्वार्थी नहुने तर्क गरेका थिए । कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता अनुसार काम गर्ने बताए ।

यस्तै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले प्रदेश सरकारले सहयोग गरेको रकमले म्याच मनी दिने हुँदा म्याच फिक्सिङ रोक्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जाेड दिए ।

भण्डारीले खेलकुदसम्बन्धी अन्य बजेटहरू पनि सम्बन्धित खेलकुद संघहरूसँग छलफल गरेर खर्च गर्ने गरेको बताएका छन् । सम्झौता कार्यक्रममा मन्त्रालयका सचिव यज्ञराज ढुंगेल, एन्फा बागमती प्रदेशका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »